चुनौती
२०७८ बैशाख १८, शनिबार १८:४०

पदमा लिंखा मगर, न्यूयोर्क
पशुपक्षीलाई आफ्नो वसमा राखेर
उन्मात रमाउने हामी मानव जाति
अहिले उही नियति
ठीक उल्टो बगेको छ
फरक यति हो
पशुपक्षी बन्दीमा परे मान्छेकै शोखले
मान्छे बन्दीमा परे फेरि मान्छेकै कर्मले !
जति सक्यौं पृथ्वीमाथि प्रहर गरिरह्यौं
कहिले जंगल फाँडेर त कहिले
कृषियोग्य जमिन मासेर फाइदा लियौं
यही विनासलाई विकासको नाम दिएर
सभ्यताको नाम दिएर
खेतबारीमा सकेसम्म कंक्रिटयुक्त घर उमार्यों
आफ्नो विनाशकारी प्रगतिमा मक्ख रह्यौं
घर पोलेर खरानी बेच्दै रमायौं |
वातावरणको अक्सिजन मास्दै
कृतिम अक्सिजनसँगै रमायौं
विज्ञानको सहाराले
प्रकृतिमाथि अन्याय गर्दै
प्रकृतिलाई नै चुनौति दियौं
हर कुरामा कृतिमता लेप लगाएर
विजयको धावा बोल्यौं |
अहिले कृतिम अक्सिजन नपाउने स्थितिमा
आफैंले ल्याइपुर्यायौं |
वन जंगल र जीवजन्तुलाई मासेर
विज्ञानको गलत प्रयोग गर्दै
आधुनिक युगको नाममा
पृथ्वीमा चलेको इको सिष्टमलाई नै
कडा चुनौती गर्यौं
प्राकृतिक वतावरणलाई निलिदियौं
यसैलाई आफ्नो
अपार सफलता ठान्यौं |
त्यसैको फल होला सायद
हामीले अहिले उही
चुनौती फिर्ता पाएका छौं
अत्याचार भएपछि
ढुंगा, माटो बोल्दो रहेछ,
अनि हावा पनि बोल्दो रहेछ
त्यसैले त हामीमाथि
अदृश्य आक्रमण भइरहेको छ |
नचाहँदा नचाहँदै अहिले
हामीमा बाँचेको थोरै मानवता पनि हराउँदैछ
मानवबाट मानव घृणित छौं
जनावर हाम्रो काखमा लुटुपुटु गर्न सक्छ
तर मान्छे मान्छेवीचमा !
लुटुपुटु त के छोइएला भनेर
६ फीटको दुरी कायम छ
काममा गएको श्रीमान् घर फर्किंदा
श्रीमति लुक्ने अवस्था छ
वर्षौंसम्म विदेश गएर फर्किएको छोरालाई
आमाले आफ्नो न्यानो काखमा
अघाउन्जेल राख्न त के
टाढै पन्छिनु पर्ने वाध्यता छ |
वर्षौंदेखि योजना बनाएर
आफन्त भेट्न घर फर्किएका
परदेशीहरू आफ्नै घरमा निषेधित छन् |
नचाहेर पनि मान्छे मान्छेवीच
पशुभन्दा नीच व्यवहार गर्न बाध्य छौं
आफूसमेत हात छोपेर
मुख टालेर बस्न वाध्य छौं
संसारकै सर्वोत्कृष्ट मानव जाति
अनिश्चित कालका लागि
बिना समयसीमा बन्दी छौं
न कुनै धरौटीमा छुट्छ
न त जमानतमा
त्यो पनि नाङ्गो आँखाले देख्न नसकिने
सुक्ष्म जीवाणुको पहुँचले बनाएको बन्दी
अनिश्चित बन्दी !