पूर्व गोर्खा सैनिक गुरुङ बेलायतमा मेयर निर्वाचित

२०७८ बैशाख २३, बिहीबार १६:२१

न्युयोर्क । बेलायतको बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा भूपू गोर्खा सैनिक विष्णुबहादुर गुरुङ निर्वाचित भएका छन् ।

लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङ मे ४ तारिखमा निर्वाचित भएका हुन् । उनी यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका व्यक्ति हुन् । ड्राइभर पेसामा आबद्ध गुरुङ पहिलोपटक सन् २०१४ मा लण्डन बरो अफ हन्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डबाट लेबर पार्टीको तर्फबाट काउन्सिलर बनेका थिए ।

वेलायतबाट प्रकाशित गोर्खा मिडियाका अनुसार ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका गुरुङ गोर्खा नेपलिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष पनि हुन् । आर्मड फोर्सेस च्यारिटी (एसएसएफए) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयंसेवी भूमिकामा पनि छन् । गुरुङले मेयरमा निर्वाचित भएपछि जिम्मेवारी चुनौतीपूर्ण रहे पनि स्थानीय जनताको विश्वास जितिरहने प्रतिक्रिया जनाएका छन् ।

गुरुङ नेपालको गोर्खा जिल्लाको बारपाक, सुलिकोट गाउँपालिका सौरपानी ४, फुन्चोकमा जन्मिएका हुन् ।

सम्बन्धित समाचार