२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

हिमालय हेल्थ क्लिनिकको कोष अभिवृद्धि गर्न “गाला डिनर” आयोजना गरिने



टेक्सास, अमेरिका । अमेरिकाको टेक्सासमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको संगठन (टीएनएमए)द्वारा सञ्चालित हिमालय हेल्थ क्लिनिकको सेवा नियमितता तथा स्तरोन्नतिका लागि कोष अभिवृद्धि “गाला डिनर” आयोजना गरिने भएको छ ।

यही अप्रिल ६, २०२४ मा हिमालयन क्लिनिकले आयोजना गर्न लागेको ‘फन्ड रेजिङ गाला डिनर’ को बारेमा जानकारी दिनको लागि केही दिन अघि पत्रकारसम्मेलनको आयोजना गरिएको थियो । सो अवसरमा संस्थाका पदाधिकारीहरूले टीएनएमए, हिमालयन हेल्थ क्लिनिक र गाला डिनरलगायतका बारेमा प्रस्ट्याएका थिए ।

टीएनएमएका अध्यक्ष डा. सञ्जीव श्रेष्ठले निःशुल्क रूपमा सञ्चालित क्लिनिकका लागि मासिक कम्तिमा १० हजार डलर खर्च भइरहेको जानकारी दिए । हरेक महिनाको पहिलो र तेस्रो आइतबार बिहान १० देखि १ बजेसम्म युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा सञ्चालन भइरहेको क्लिनिक हालसम्म समुदायको सहयोगबाट सञ्चालन भइरहेको डा. श्रेष्ठको भनाई थियो ।

उक्त क्लिनिक बिमा सेवा नलिएका र आफन्त भेट्न छोटो अवधिका लागि नेपालबाट आएका नेपालीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो । २५ वर्षदेखि अमेरिकामा रही कार्यरत डाक्टर श्रेष्ठले भने, “क्लिनकमा प्राविधिक सेवा निःशुल्क भए पनि अमेरिकी मापदण्डअनुसारका चिकित्सा सामग्री, औषधि जुटाउन र तिनको भण्डारण आदिमा हुने खर्चको जोहो गर्न कठिनाइ भइरहेको छ ।” सो स्वास्थ्य सेवालाई सहज र विस्तार गर्नका लागि बजेटको आवश्यकता भएकाले सो गाला डिनरको आयोजना गरिएको डा. श्रेष्ठले जानकारी दिए ।

टेक्सासको ग्रेपभाइन सहरमा हुने सो गाला डिनरका लागि शुल्क ५ सय डलरदेखि माथिका आठ किसिमका दर तोकिएको छ । ‘सामुदायिक स्वास्थ्यका लागि हातेमालो’ नारा दिइएको डिनरमा नेपाली कलाकारहरूको प्रस्तुति पनि रहने छ । फन्ड रेजका लागि सदस्यता अभियानको म्याद थपेर मार्च १० सम्म पुर्याइएको टीएनएमए कार्यालय निर्देशक लिला श्रेष्ठले जानकारी दिए । गाला सदस्य बनेबापत सो डिनरमा दुईओटा टिकट पाउने पनि श्रेष्ठले जानकारी दिए ।

चन्दादाताहरूलाई प्राभावित बनाउने तरिकाले नेपालका ८ ओटा हिमाल पार गर्दै अन्तिममा सगरमाथा चढ्ने सुविधा रहेको छ। सुरुमा सानो चन्दा दिएर सानो हिमाल चढ्दै जाने र सगरमाथासम्म पुग्ने व्यवस्था राखिएको छ । जसमा ५ सय डलर दिएर अन्नपूर्ण, १ हजार डलरले मनास्लु, ३ हजार डलरले धौलागिरी, ५ हजार डलरले चोयु, १० हजार डलरले मकालु, १५ हजार डलरले ल्होत्से, २० हजार डलरले कञ्चनजंघा र अन्त्यमा २९०३२ फिटको उचाइलाई सगरमाथाको नामकरण गरी २९०३२ डलर चन्दा दिन सकिने छ ।

क्लिनिकको सुरुवातदेखि हालसम्म ७१ हजार डलर खर्च भएको र डाक्टर र नर्सहरूले निःशुल्क सेवा उपलब्ध गराउँदा पनि हरेक पटक क्लिनिक सेवाका लागि करिब पाँच हजार डलर खर्च हुने गरेको सो कार्यक्रममा जानकारी दिइएको थियो । क्लिनिकको स्थापना सन् २०२० मा भए पनि कोभिडका कारण सन् २०२३ को मे ७ देखि सञ्चालित उक्त क्लिनिकमा चिकित्सक, दन्त चिकित्सक र नर्ससमेत गरी करिब २० जना स्वयंसेवकको रूपमा कार्यरत छन् । क्लिनिकमा हाल मेडिकल, दन्त र प्रयोगशाला सेवा सञ्चालनमा छन् ।

टेक्सासमा १ लाख १५ हजारभन्दा बढी नेपाली समुदायको बसोबास रहेको र नेपालबाट आइरहने तिनका आफन्तहरूका कारण क्लिनिकमा बिरामीको चाप बढिरहेको जनाइएको छ । सो क्लिनिक सञ्चालनमा आएदेखि सो क्लिनिक सेवाबाट ८ सय बिरामीले उपचार पाएका छन् । टीएनएमएका अनुसार टेक्सासमा हाल ७६ को हाराहारीमा नेपाली चिकित्सक र कम्तीमा ३ सय नर्स यहाँका अस्पतालहरूमा कार्यरत छन् ।

सो कार्यक्रममा हिमालयन हेल्थ क्लिनिकका उपाध्यक्ष शर्मिला श्रेष्ठ, महासचिव डा. पुजा सैंजू, कोशाध्यक्ष डा. विश्वास बिस्ट, निर्देशक डा. विश्वास उपाध्याय, निर्देशक राजकुमार श्रेष्ठ, नर्स मिनु केसीलगायतले हिमालयन हेल्थ क्लिनिकबाट प्राप्त हुने सेवा र अन्य स्वास्थ्यसम्बन्धि जिज्ञासाका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : ३२ बजे