अमेरिकाले नेपाललाई विपद् उद्धार र राहत कार्यमा सहयोग गर्न दुई वटा एम–२८ स्काइट्रक र दुई बेल–४१२ हेलिकप्टर दिने भएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले एक वक्तव्य जारी गरी स्काइट्रक, बेल हेलिकप्टर र अतिरिक्त हेलिकप्टरहरु तथा त्यसको सञ्चालनको तालिम र स्पेयर पार्टहरु उपलब्ध गराउन लागेको जनाएको हो ।
थप दश करोड रुपैयाँ बराबरतका सहायता अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमणका क्रममा अनुदान दिने सहमति भएको पनि उल्लेख गरेको छ ।
दूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हाम्रा दुई देशहरू बीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा विगतका केही वर्षहरूमा संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमानहरू उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीन ओटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’
दूतावासले सन् २०२१ मा अमेरिकाले जनवरी २०२५ सम्ममा करिब ३ करोड ७० लाख डलर बराबरका दुई ओटा एम–२८ स्काइट्रक उपलब्ध गराउन सहमत भएको जनाएको छ । ‘छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका यी स्थिर पखेटावाला विमानहरू हुन् । यीमध्येको एउटा विमान विशुद्ध हवाई एम्बुलेन्स हो, जुन यस प्रकारकै पहिलो विमान हो,’ वक्तव्यमा भनिएको छ,‘यस अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पार्टपूर्जा सहयोग समेत समावेश गरिएको छ ।’
दूतावासले सन् २०२२ मा अमेरिकाले नेपाललाई दुई ओटा बेल–४१२ हेलिकप्टर उपलब्ध गराउन सहमत भएको पनि उल्लेख गरेको छ । साथै, ती हेलिकप्टरहरू आगामी केही वर्षमा उपलब्ध हुने पनि विज्ञप्तिमा उल्लेख द्ध । ‘चार करोड ४० लाख डलरको उक्त अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै बन्दोबस्ती सहयोग समेत समावेश गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री वर्माको नेपाल भ्रमणको क्रममा भएको अतिरिक्त हेलिकप्टर, तालिम र सहायता उपकरणका लागि थप १० करोड डलरको अनुदान सहायता भने अमेरिकी कंग्रेसबाट सूचना प्राप्त भई आर्थिक स्रोतको उपलब्धता सुनिश्चित भएपछि प्रदान गरिने उल्लेख छ । अमेरिकाले उपलब्ध गराउन लागेको हवाई साधनहरु नेपाली सेनाले प्रयोग गर्ने छ ।









