१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

ट्रम्पको ‘ठूलो र सुन्दर’ खर्च विधेयकको मस्कले गरे आलोचना, दुईबीच दूरी बढ्दै



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२४ मा पुनः निर्वाचित गराउन महत्त्वपूर्ण भूमिका खेलेका प्रविधि उद्यमी एलन मस्कले अब ट्रम्पकै प्रमुख आर्थिक नीतिको खुलेर आलोचना गरेका छन् । यससँगै उनीहरूबीचको सम्बन्धमा दरार देखिएको छ ।

गत साता अमेरिकी प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्पको बहुप्रचारित “ठूलो र सुन्दर” कर र खर्च विधेयक झिनो बहुमतले पारित गरेको थियो । विधेयकले बहुट्रिलियन डलर बराबरको कर छुट, रक्षा बजेटमा ठूलो वृद्धि, र सरकारको ऋण सीमा ४ ट्रिलियन डलरसम्म बढाउने प्रस्ताव गरेको छ । अब यो विधेयक सिनेटमा विचाराधीन रहेको छ ।

सीबीएस सन्डे मर्निङ कार्यक्रममा बोल्दै मस्कले भने यसको अलोचना थरेका छन् । “ठूलो खर्च योजना देख्दा म निराश भएँ”, उनले भनेका छन्, “यसले बजेट घाटा घटाउने होइन, बढाउने काम गर्छ ।”

टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्क राष्ट्रपति ट्रम्पको नेतृत्वमा बनेको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ का प्रमुख समेत छन् । उनको नेतृत्वमा सरकारी खर्च कटौतीका नाममा परराष्ट्र सहायतालगायतका क्षेत्रमा बजेट घटाइएको थियो । तर हालै उनले त्यस भूमिकाबाट आफू पछि हट्ने घोषणा गरेका छन् ।

“यो विधेयकले हाम्रो टोलीले गरेको कामलाई कमजोर बनाउँछ,” मस्कले भनेका छन्, “कुनै विधेयक ठूलो हुन सक्छ, सुन्दर पनि हुन सक्छ, तर दुवै एकैपटक भन्छ भन्ने कुरामा मेरो विश्वास छैन ।”

यस विधेयकलाई लिएर रिपब्लिकन पार्टीभित्र नै तीव्र मतभेद रहेको छ । २०१७ मा पारित कर कटौतीलाई निरन्तरता दिने, रक्षक बजेटमा ठूलो बढोत्तरी गर्ने, तथा व्यापक निर्वासन योजना कार्यान्वयनका लागि कोष छुट्याउने यो विधेयकले सरकारको घाटा अर्को वर्ष मात्रै ६०० अर्ब डलरसम्म बढाउन सक्ने अनुमान गरिएको छ ।

ट्रम्पलाई २०२४ मा जिताउन २५० मिलियन डलरभन्दा बढी सहयोग गरेका मस्क अब भने राजनीतिबाट दूरी बनाउने संकेत दिँदै आएका छन् । उनले भविष्यमा कम राजनीतिक खर्च गर्ने र टेस्लामा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

मस्कको टोलीले एक ट्रिलियन डलर खर्च कटौती गर्ने लक्ष्य लिएका थियो । उक्त विभागको वेबसाइटका अनुसार हालसम्म १७५ अर्ब डलरको बचत भएको दाबी गरिएको छ । तर बीबीसीको विश्लेषण अनुसार यो तथ्यांकका पुष्टि गर्न पर्याप्त प्रमाण छैन ।

सरकारी सेवाबाट हजारौं कर्मचारी हटाउने र परराष्ट्र सहयोगमा कटौती गर्ने मस्कको कदमको चौतर्फी आलोचना भएको थियो । टेस्ला कम्पनीमाथि समेत बहिष्कार र बिक्रीमा गिरावट आएको छ । यद्यपी मस्क आफ्नो काममा अडिग छन्, “मैले आवश्यक काम गरेको हुँ,” भन्दै आफूले लिएर आएका निर्णयको बचाउ गरेका छन् ।

सिनेटमा विधेयकको बहस सुरु हुन लाग्दा मस्कको सार्वजनिक असहमतिले रिपब्लिकन पार्टीभित्रको आन्तरिक असन्तोष र ट्रम्प-मस्क गठबन्धनको भविष्यबारे नयाँ प्रश्न उठाउँदैछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ११ : ०३ बजे