९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

अवकाशप्राप्त सेनाको समस्या लिएर ह्वाइटहाउस पुगे ल्होप्साङठिले शेर्पा


३ असार २०७४, शनिबार  

0
Shares

आङछिरिङ शेर्पा/न्युयोर्क

अमेरिकामा अवकाश प्राप्त सैनिकहरुले भोग्नु परेको समस्यालाई लिएर नेपाली मुलको ल्होप्साङ ठिले शेर्पा सालाकाले वासिङटन डिसिस्थित ह्वाइटहाउस पुगी अमेरिकी उच्च निकायको प्रमुख र राजनीतिज्ञसँग भेटी सैनिकहरुको हितमा काम गर्न प्रस्ताव राखेका छन । उनीसहित ५ जना अवकाशप्राप्त सैनिकलाई हाइग्राउन्ड भेटरेन एडभोकेसीले अवकासप्राप्त सैनिकहरुको हितमा वकालत गर्न छनोट गरी ह्वाइटहाउस पठाएका हुन् । हाइग्राउन्ड अवकासप्राप्त अमेरिकी सेनाहरुको हकहितमा क्रियासिल संस्था हो ।

ह्वाइटहाउसमा अमेरिकी सिनेटरहरु र कंग्रेसम्यानसँग सैनिकबारे वकालत गर्न जानेमा ल्होप्साङ संभवतः पहिलो नेपाली मुलको अमेरिकन अधिकारी हुन् । ६ दिनका लागि भएको वकालतमा शेर्पाको समूहले साउथ डाकोटाका सिनेटर माइक राओन्स, न्युयोर्ककी कंग्रेसवुमन क्याथलिन राइस, साउथडाकोटाकी कंगेसवुमन क्रिस्टि नोओइन, मिनेसोटाका कंगेसम्यान टिम वाल्जसँग भेट गरी अवकासप्राप्त सैनिकबारे वकालत गरी कानुनी रुपमा सहयोगको लागि प्रस्ताव राखेका थिए । त्यस्तै म्यासचुसेटको सिनेट एलिजावेथ वारेन, बर्मनको सिनेटर बर्नि सेन्ड्रस न्युयोर्कको सिनेटर चर्क सुमरको कार्यालय र युएस कंग्रेसको बहुमत र अल्पमतको कार्यालयको सम्बन्धीत क्षेत्रको अधिकारिहरुसँग भेटेर छलफल गरेका थिए ।


‘आफुले सिकेको ज्ञान र पाएको अनुभवले आफु जस्तै अवकासप्राप्त सैनिकहरुको हितमा उच्च तहसम्म गएर वकालत गर्ने अवसर पाउदा निकै खुसी लाग्यो,’ ल्होप्साङले भने, ‘हामीहरु ५ जनाको फरकफरक प्रस्ताव मध्ये मेरो प्रस्तावमाथि छलफल भएर आगमी महिना आउने बजेटमा कानुनी रुपमै राहत मिल्ने सम्भवना बढेको छ ।’ ल्होप्साङले अवकासप्राप्त सैनिकहरुले सैनिक जीवन छाड्ने बितिकै बेरोजगार, आत्महत्या, होमलेस र मानसिक समास्या भोग्नु परिरहेको बास्तविकतालाई वकालत गर्दै प्रस्ताव पेस गरेका थिए । उनले राखेको प्रस्तावअनुसार अहिलेसम्म आत्महत्या गर्नेहरुमा सर्वसाधारण भन्दा अवकासप्राप्त सैनिकहरुको संख्या बढी भएकाले यो समास्यालाई सरकारलाई तत्कालै बुझेर सामाजिक कार्यकर्तामार्फत उनीहरुलाई सहयोगका लागि माग गरेका थिए ।


‘साधारण जनताको तुलनामा सैनिकको सुविधा बढी भएपनि सैनिक सेवा सकेपछि सरसल्लाह दिने सामाजिक कार्यकर्ताको अभावले त्यस्ता मानवीय समास्या धेरै देखिन थालेकोले कानुनी रुपमै राज्यले सुविधा दिनुपर्ने भनेर मैले त्यस बारेमा वकालत गरेको हो,’ शेर्पाले भने । उनको प्रस्तावमाथि छलफल भएपछि अमेरिकी राजनितिज्ञहरुले सैनिकको यो गम्भीर सवालमा उनीहरु सबैले सहर्ष रुपमा स्वीकार गरी चाडै नीति निर्माण तहमा लैजाने आश्वसन दिएको उनले बताए । उनकै प्रस्तावमा सेनेटर जिली ब्रेनको कार्यालयले आगामी महिनामा हुने नेसनल डिफेनस अथोरोजेजन एक्ट २०१८ मा लैजाने भएको ल्होप्साङले बताए ।

अमेरिकी सैनिकको सेवा सकेर अवकास पाउने युवाहरुमा सबैभन्दा बढी यो समास्या देखिएको उनको अनुभव रहेको छ । ‘विशेष गरेर युवा उमेरमै सैनिकबाट अवकास पाएका धेरैलाई पथप्रर्दशन गर्नेहरुको अभावसँगै उनीहरुमा धैर्यता नभएकोले पनि यस्तो समस्या र खतराहरु आउन थालेकोले हामीले सामाजिक कार्यकर्ताको माग राखेका हौं,’ उनले भने ।

अमेरिका सेनामा ९ वर्ष काम गरेर अवकासप्राप्त ४८ वर्षे शेर्पा सैनिक सेवापछि सार्वजनिक नीतिको उच्च अध्ययन गर्दै गरेका विद्यार्थी पनि हुन् । तीन छोराका पिता ल्होप्साङ सिन्धुपाल्चोकबाट सन् १९८८ मा न्युयोर्कमा आएर विभिन्न व्यापार व्यवसाय गर्दै अध्ययन गरी सैनिक क्षेत्रमा लागेर यो उपलब्धि हासिल गरेका हुन् । केही महिना अघि क्वीन्स कम्युनिटी बोर्ड थ्रिको बोर्ड मेम्बरमा छनोट भएका उनी सैनिक, इमिग्रेसन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी क्षेत्रको अध्ययनसँगै यही क्षेत्रमा लाग्ने सोचअनुसार अघि बढेको बताउँछन् ।
तस्बिरः हाइग्राउन्ड भेटेरेन एडभोकेसीको फेसबुकबाट

प्रकाशित मिति : ३ असार २०७४, शनिबार  १० : ४० बजे