एभरेस्ट टाइम्स/न्युयोर्क
न्युयोर्कमा धेरै नेपाली समूदाय छन् । ती समूदायमध्ये सबैभन्दा व्यवस्थित र बलियो समूदायको रुपमा चिनिएको छ शेर्पा किदुग । धेरै सदस्य संख्या भएर मात्र होइन किदुगले सुरुवाती दिनदेखि नै आफ्नो लक्ष्य र उद्देश्य प्रप्तिका लागि गर्दै आएका महत्वपूर्ण कार्यहरु र समूदायभित्रको एकताले किदुग बलियो भएको हो ।
किदुगले आफ्नै समूदायको आर्थिक सहयोगमा भवन खरिद गरेपछि पछिल्लो समय महत्वपूर्ण काम गर्दै आएको छ । कुनै समय आफ्नो समूदायको भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यकासाथ खोलिएको किदुगले आजसम्म आइपुग्दा धेरै महत्वपूर्ण काम गर्न सफल भएको छ ।
प्रवासमा धर्म र संस्कृतिको जगेर्नाका लागि विभिन्न कार्यक्रमहरुको साथै पछिल्लो समय यही जन्मेका बालबालिकाका लागि मौलिक शेर्पा भाषा र संस्कृति सिकाउनका साथै फुटबल तालिम दिएर नमुना संस्थाको रुपमा चिनिएको छ । विशेषगरी घरमा फोन र टिभीमा बढी रमाउने बालबालिकालाई यो शिक्षाले व्यक्तित्व विकासमा योगदान पु¥याएको छ ।
यी कक्षामा सहाभागी बालबालिका आपसमा घुलमिल हुनका साथै उनीको आत्मविश्वास बढाएको छ । किदुगको यी महत्वपूर्ण कार्य यसअघिका कार्यसमितिको पालादेखि नै शुरु गरेका हुन् । अघिल्लो कार्यसमितिको ती कार्यलाई निरन्तरता दिँदै अहिलेको कार्यसमितिले भाषा संस्कृति र खेल दुबै क्षेत्रमा संयोजक राखेर व्यवस्थित रुपमा अघि बढाउने कार्य गरिरहेका छन् ।
किदुगमा भाषा, धर्म र संस्कृतिको शिक्षा लिएका बालबालिकाले अहिले आफ्नै घरमा बिहानबेलुकी पूजा गर्ने तरिका, बौद्ध मन्त्रहरु पाठ गर्नका साथै बौद्ध धर्मको आधारभुत ज्ञान पाउन थालेका छन् । त्यस्तै तीन वर्ष अघिदेखि किदुगले दिँदै आएको फुटबल तालिम लिएका बालबालिकाले न्युयोर्कमा रहेका अन्य मुलुकका बालबालिकासँग मेट्रो किड्स लिगमा भिड्दै उपाधि जित्न थालेको छ ।
भाषा र संस्कृतिको शिक्षा आफ्नै भवनमा दिइरहेको छ भने फुटबल गर्मीमा पार्कमा तालिम दिइरहे पनि हिउँदको ४ महिना विद्यालयको फुटबल हलमा तालिम दिइरहेका छन् । यसपटक किदुगले हिउँद आगमनसँगै गत डिसेम्बरको पहिलो हप्तादेखि इन्डोर तालिम दियो । सन् २०१६ देखि सुरु भएको इन्डोर फुटबल तालिम सूरुमा कम प्रशिक्षार्थी भएकोले दुई वर्ष हप्ताको एक दिन आइतबार तालिम दिएका थिए भने यो बर्ष धेरै बालबालिका आएकाले शनिबार र आइतबार सिकाउदै आएको छ ।
फुटबल तालिममा ५ वर्षदेखि १७ वर्ष उमेरको बालबालिकाले सिक्ने मौका पाएका छन् । तालिममा प्रमुख प्रशिक्षक एन्डीलेविसँगै फिल्ड इन्चार्ज र प्रशिक्षकको रुपमा कर्मा शेर्पा र प्रशिक्षकहरुमा माइक, स्वस्तिक जंग बसिस्ट र तेन्जीङ शेर्पा कार्यरत छन् । उनीहरुलाई किदुगले प्रति घण्टाको दरले तलब पनि दिइरहेको छ भने सिक्ने बालबालिकाले पनि प्रतिव्यक्ति भर्ना शुल्कसहित चार महिनााको २ सय डलर लिइरहेका छन् ।
तालिम लिन हिमालयन कम्युनिटीबाट धेरै बालबालिका आउन थालेपछि सन् २०१६ मा युनाइटेड शेर्पा फुटबल क्लब स्थापना गरेको थियो । क्लबमा म्यानेजरमा छिरिङ गेल्जेन शेर्पा छन् भने कोषाध्यक्षमा छाप्तेन शेर्पा रहेका छन् । सुरुमा ७ जनाबाट सिक्न थालेको किदुगको तालिममा अहिले १६० जना भएका छन् ।
किदुग अन्तर्गतको क्लबले गत वर्ष विभिन्न ४ समूहमा हरेक हप्ताको आइतबार ६० जनाले सिकेका थिए भने अहिले शनिबार र आइतबार हप्ताको दुबै दिन १२० जनाले सिकिरहेका छन् । मेनेजर छिरिङ गेल्जेनका अनुसार किदुगले दिएको राम्रो तालिमले अहिले हरेक प्रतियोगितामा ५ टिमबाट ६५ जनाले भाग लिइरहेको छ ।
अझै पनि राम्रो तालिम दिएर खेल्दै गए उनीहरुले धेरै उच्च लिगहरु पनि खेल्न सक्ने उनले बताए । उनकाअनुसार दुई वर्षअघि १ सय ७ जनाले हरेक हप्ताको आइतबार ९ घण्टा तालिम लिएका ११ बर्ष मुनिका बालबालिकाले क्विन्स फाउन्डेसन इन्डोर लिग जितेका थिए ।
त्यस्तै गत वर्ष १ सय ३० जनाले शुक्रबार र आइतबार तालिम लिएर ५ टिमले मेट्रो किड्स लिग प्रतियोगितामा भाग लिएका थिए । स्प्रिङमा भएको लिगमा ११ बर्षमुनिको र १५ बर्ष मुनिकोले दोस्रो स्थान हासिल गरेका थिए भने ९ बर्ष मुनिकाले तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै गत समरमा जम्मा १ सय ५० ले शुक्रबार र आइतबार तालिम लिएका ५ टिमले मेट्रो किड्स लिगमा भाग लिएका थिए । उक्त लिगमा ९ बर्ष मुनिकाले र १३ बर्ष मुनिकाले प्रथम स्थान हासिल गरेका थिए भने १५ बर्ष मुनिकाले तेस्रो स्थान हासिल गरेका थिए ।
‘किदुगको फुटबल तालिमले बालबालिकाको शारीरिक विकासको साथै व्यक्तित्व विकासमा निकै ठुलो सघाउ पु¥याएको छ,’ तालिममा सहाभागी बालबालिकाको अभिभावक ल्हाक्पा वाङ्डु शेर्पाले भने । किदुगमा सुरुमा फुटबल सिकाउँदै आएका प्रशिक्षक तथा युनाइटेड शेर्पा क्लबको सल्लाहकार साङबु शेर्पाकाअनुसार क्लबले बालबालिकालाई फुटबल राम्रो सिकाउँदै गएपछि तीन वर्षदेखि अन्य मुलुकको बालबालिकाबीच मेट्रो किड्समा भाग लिने अवसर मिलेको छ ।
उनकाअनुसार मेट्रो किड्स प्रतियोगिता भनेको क्विन्सको विभिन्न मुलुकको स्थानीय क्लबमा राम्रो खेल्ने विभिन्न उमेरका बालबालिकाबीच हुने फुटबल लिग प्रतियोगिता हो । न्युयोर्कमा अप्रिलदेखि नोभेम्बरसम्म दुईपटक लिग हँुदै आएको छ । यो प्रतियोगिता तीन महिना स्प्रिङ र तीन महिना समरमा हुँदै आएको छ । ‘सुरुमा बालबालिकाको शारीरिक विकासका लागि गर्दै आएको फुटबल अहिले अन्य मुलुकको बालबालिकासँग पनि प्रतिस्प्रर्धा गरी नेपालको प्रतिष्ठालाई उच्च बनाएको छ,’ सल्लाहकार साङबुले बताए ।
‘हाम्रो चाहना भनेको यही जन्मेको बालबालिकालाई शेर्पा भाषा र संस्कृतिको माध्यमबाट नजिक ल्याउनका साथै खेलको माध्यमबाट समूदायको बालबालिकालाई अगाडी बढाउने हो,’ किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने, ‘शेर्पा भाषा, संस्कृति र नेपाली भाषा कक्षासँगै फुटबल तालिमलाई व्यवस्थित गर्न कार्यसमितिले विभिन्न योजनाहरु बनाइरहेको छ ।’ उनकाअनुसार तालिम लिएर अन्य मुलुकका बालबालिकासँग जित्ने किदुगका बाल खेलाडी र टिमलाई किदुगले सम्मान गर्दै आएको छ । फुटबललगायत खेलकुद कार्यक्रमको संयोजन किदुगका सदस्य फुर्वा शेर्पाले र शेर्पा तथा नेपाली भाषा कक्षाको संयोजन सचिव तेम्बा शेर्पाले गरिरहेका छन् ।