२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

नेजाको छैटौं अधिवेशन, अध्यक्षमा पन्त


२० श्रावण २०७५, आइतबार  

0
Shares

एभरेस्ट टाइम्स/सियाटल

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को छैटौं अधिवेशन तथा १२ औं साधारण सभा सियाटलमा सम्पन्न भएको छ । जुलाई २१ र २२ मा भएको दुई दिने अधिवेशनबाट सुदिपराज पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रूपमा अध्यक्ष चयन गरेको हो ।

अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था नेजामा विकासराज न्यौपाने (उपाध्यक्ष), किरण मरहट्ठा (महासचिव), सुरज भण्डारी (सचिव) र मच्छेदेवी गुरुङ (कोषाध्यक्ष) निर्विरोध चयन भए ।  त्यसैगरी क्षेत्रीय संयोजकमा पूर्वक्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेवी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाललाई चयन गरिएको निर्वाचित भए । सदस्यमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल छन् । कार्यसमितिको पहिलो बैठकले रिक्त एक सदस्यमा नेजाका पूर्वसचिव अग्निप्रसाद चौलागाईंलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यको सभापतित्वमा शुरु भएको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य उपस्थित थिए भने विशेष अतिथिका रुपमा अवैतानिक महावाणिज्य दुत ऋषि ढकाल, वाणिज्य दुत एसी शेर्पा, वरिष्ठ उपाध्यक्ष सुनिल शाह, वसिङ्टन स्टेटका आयुक्त मोहन गुरुङ एनआरएन आइसीसीका प्रतिनिधि बलराम ढकाललगायतको उपस्थिति थियो । त्यसैगरी नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, नेजाका सल्लाहकार तथा पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल, सल्लाहकार तथा अग्रज पत्रकार तारा बराल, एनआरएनका मिडिया कोअर्डिनेटर बाल जोशी, सियाटाल सोसाइटीका अध्यक्ष माधव भण्डारी उपस्थित थिए ।

त्यसैगरी कार्यक्रममा पूर्व सभासद् ज्योत्सना राणा, पूर्व सभासद् निल तिलिजा, एनआरएन वासिङ्टनका अध्यक्ष नवीन खनाल, गुरुङ सोसाइटीका अध्यक्ष सीता गुरुङ, नर्थ वे शेर्पा संघका अध्यक्ष पीके शेर्पा, पर्यटन व्यवसायी पवन लामा शेर्पा पनि उपस्थित थिए । प्रमुख अतिथि आचार्यले पानसमा बत्ती बालेर कार्यक्रम शुरु भएको थियो । निवर्तमान महासचिव तोया दाहाल र एस बाबुले सञ्चालन गरेको कार्यक्रममा नेजाको स्मारिका प्रयाससमेत विमोचन गरिएको थियो ।

कार्यक्रममा कन्भेनर ध्रुव कुँवरले स्वागत गरेका थिए । कार्यक्रममा सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले नेजालाई सियाटलमा अधिवेशन गर्ने छनोट गरेकोमा विशेष धन्यवाद दिए । उनले भने, ‘सफल बनाउन नेजाका पदाधिकारीलाई धरैधेरै धन्यवाद । नेजा सोसाइटीमा भएका राम्रा कुरालाई बाहिर ल्याएको होला । यसअघि सियाटलमा नेजा कनेक्टेड थिएन । अब हुनेछ। राम्रो कुरालाई बाहिर ल्याउनेछ भन्ने आशा गरेको छु ।’

त्यसैगरी नेजाका सल्लाहकार तारा बरालले राजनीतिले फोहोरले नेपाली समाज विग्रन लागेकोले नेपाली समाजलाई एउटै सुत्रमा बाँध्ने काम नेजाले गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेजाका सल्लाहकार आङछिरिङ शेर्पाले नेजाले प्रवासमा रहेका नेपाली समूदायसँग हातेमालो गर्दै सामाजिक काम गर्दै आएको उल्लेख गर्दै नेजामा रहँदामा होस या बाहिर, एक संस्थाले अर्को संस्थाले सहयोग गर्दै आएको बताए ।

त्यसैगरी पूर्व अध्यक्ष गिरिश पोखरेलले सबैको सहयोग र नेपाली समूदाय सबै महत्वपूर्ण रहने उल्लेख गर्दै सियाटलबासी नेपालीको सहयोगले नै अधिवेशन सम्भव भएको बताए । उनले नेजाले नेपाली समूदायको सुखदुःख उजागर गर्ने सेतुको काम गरेको छ उल्लेख गरे ।पूर्व अध्यक्ष गौतम दाहालले नेजालाई अमेरिकाको नेपाली समूदायमा पु¥याउन न्युयोर्कबाहिर कार्यक्रम गर्न थालिएको जनाए । त्यसैगरी वसिङ्टन स्टेटका आयुक्त मोहन गुरुङले नेजाले नेपाली भाषालाई अमेरिकाको राज्यमा फैलाउन आवश्यक काम गर्न सुझाव दिए । भने, ‘शरीरलाई स्वस्थ राख्न रक्तसञ्चार हुनुपर्छ । रगत सफा भएमा राम्रारी रक्त सञ्चार हुन्छ ।

हामीले जन्मभूमि छाडेर आएका छौ । हाम्रो कर्मभूमिमा पहिचान जोगाउनुपर्छ । पहिचान बचाउने मूख्य भूमिका भनेको भाषा हो । भाषा नभए पहिचान जोगिदैन । नेपाली भाषा फैलाउन वासिङटनमा १२ कक्षासम्म मान्यता प्राप्त भएको छ । नेपाली भाषालाई अरु राज्यमा पनि फैलाउन प्रयास गर्नुहोला ।’त्यसैगरी वरिष्ठ उपाध्यक्ष सुनिल शाह सुनिल साहले समाजको विकासको लागि रेगुलर काम गरी अमुल्य समय निकालेर नेजाले नेपाली समाजको हितमा काम गरिरहेको बताए । उनले एनआरएसँग हातेमालो गरी समाजको अझ थप हितका काम गर्न आह्वान गरे ।

वाणिज्य दुत एसी शेर्पाले सियाटलजस्तो अमेरिकाकै सुन्दर ठाउँमा अधिवेशन राखेकोमा खुसी लागेको उल्लेख गर्दै नेजाले अंग्रेजी माध्यमको पत्रिकामार्फत नेपाली पर्यटनको प्रचार गरेमा धेरै अझ राम्रो हुने बताए ।अवैतानिक महावाणिज्य दुत ऋषि ढकालले पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै देशको आर्थिक विकास र प्रवासमा हुँदा आफ्नो समूदायको विकासका लागि हरेक तप्काका मानिसलाई खबरदारी गर्ने काम नेजाले काम गरिरहेको बताए । उनले परिवर्तनका लागि पत्रकारिता हुनुपर्ने उल्लेख गर्दै यसमा नेजाको कलम चलोस भनी शुभकामना व्यक्त गरे ।कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघ र नेजाले हरेक कार्यक्रममा सहकार्य भएकोले खुसी व्यक्त गर्दै नेजा ग्रामीण पत्रकारिता पुरस्कार वितरणमा नेजाको प्रतिनिधि राखेर वितरण गर्ने जनाए । त्यसैगरी उनले अबको नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेजाको प्रतिनिधि सहभागी गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

एभरेस्ट टाइम्सका प्रधान सम्पादक शेर्पालाई ‘नेजा प्रेसिडेन्ट अवार्ड’

एभरेस्ट टाइम्स पाक्षिक र एभरेस्ट टाईम्स अनलाईनका प्रधान सम्पादक आङछिरिङ शेर्पा नेजा प्रेसिडेन्ट अवार्डबाट सम्मानित भएका छन् ।
अमेरिकाको सियाटलमा आयोजित नेपाल अमेरिका पत्रकार संघ, नेजाको  छैटौं अधिवेशन तथा १२ औं साधारण सभा उद्घाटन कार्यक्रममा शेर्पा उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

शेर्पालाई  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उक्त अवार्ड प्रदान गरे ।नेजालाई अहिलेको अवस्थामा पु¥याउन दिलोज्यान लिएर लागेको उल्लेख गर्दै नेजाले उक्त अवार्ड प्रदान गरेको जनाएको छ । नेजालाई नयाँ गति दिन र नेजाको हकहितका लागि पत्रकार महासंघसँग समन्वय गर्ने र अनवरत सेवा गरेकाले शेर्पालाई यो अवार्ड प्रदान गरिएको कार्यक्रममा बताइएको थियो । शेर्पा न्युयोर्क सिटी गभर्नरबाट एसियन कन्भेन्सनमा एसियन लिडर अवार्डबाट सम्मानित भएका थिए ।

तीन जनालाई लाइफटाइम अचिभमेन्ट अवार्डनेजाले लेखनाथ भण्डारी र सुरशचन्द्र पोखरेललाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । भण्डारीले प्रयास स्मारिकाका लागि स्वयंसेवी भएर निरन्तर सेवा गरेकाले उक्त अवार्ड प्रदान गरिएको नेजाले जनाएको छ । यसैगरी आर्थिक योगदानका लागि सुरेशचन्द्र पोखरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । कार्यक्रममा पशुपति पाण्डे, नेपाल सियाटल सोसाइटी माधव भण्डारी, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरी जोशी, पशुपति तथा बुद्ध मन्दिर लस एन्जलस, व्यवसायी सोम घिमिरेलाई टोकन अफ लभ प्रदान गरियो ।

नेजा ग्रामीण पत्रकारिता पुरस्कार ओखलढुंगाका कुम्भराज राईलाई

नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगाका कुम्भराज राईलाई प्रदान गरिने भएको छ ।

नेजाको छैटौं अधिवेशनको उद्घाटनमा सियाटलमा आयोजित कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक एवं नेजाका सल्लाहकार आङछिरिङ शेर्पाले पुरस्कृतको नाम घोषणा गरेका हुन् । राई कान्तिपुर दैनिकमा आवद्ध छन् । २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहितको यो पुरस्कार काठमाडौंमा एक कार्यक्रमकाबिच प्रदान गरिने छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथिका रुपमा उपस्थित छन् ।

प्रकाशित मिति : २० श्रावण २०७५, आइतबार  ८ : १७ बजे