२० मंसिर २०७९, मंगलबार | Wed Dec 7 2022

कनेक्टिकटमा तामाङ समुदायसंगै अरु पनि ल्होछारमा रमाए ।


२२ माघ २०७५, मंगलबार  

0
Shares

कनेक्टिकट/ तामाङ सोसाइटी अफ कनिक्टिकेटले २८५५ फाग ल्होछार फेब्रुअरी ३ तारीक साँझ नर्थ हेभनमा एक कार्यक्रमको आयोजना गरी मनायो । लामा गुरुबाट प्रार्थना पूजा गर्दै आशिष ग्रहण गरी आपस्तमा ल्होछारको शुभकामना आदन प्रदान गरे । तामाङ पहिचान झल्किने भेषभुषामा सजिएर नाचगान गरी रमाए । न्युयोर्क, न्युजर्सी र कोलोराडो राज्यहरुबाट तामाङ सोसाईटी अफ न्युयोर्क र उत्तर अमेरिकाका प्रतिनिधीहरु कार्यक्रममा उपस्थित भएका थिए । साथै स्थानीय अन्य समुदायबाट पनि ल्होछार मनाउँन भरपुर साथ दिएका थिए ।

आयोजक संस्थाका अध्यक्ष रोमी योन्जनको सभापतित्वमा ल्होछारको औपचारिक कार्यक्रम वेलुकी ७ बजेबाट शुरु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तामाङ सोसाईटी अफ उत्तर अमेरिकाका केन्द्रीय अध्यक्ष लक्यान लामा थिए भने सल्लाहकारद्वय सुवास लामा र सुर्य पाख्रिन, सचिव प्रेम स्याङ्तन, मिडिया संयोजक ङिमा पाख्रिन, कार्यसमिती सदस्य सन्दिप लामा, तामाङ सोसाईटी अफ न्युयोर्कका सचिव दिपेन्द्र लामा लगायत अतिथीहरु सहभागी थिए । त्यस्तै युनाईटेड किराँत राई अर्गनाईजेशन अफ अमेरिका केन्द्रिय कार्यसमिती सदस्य जय राई लगायत स्थानीय शेर्पा समुदाय र अन्य पनि अतिथीका रुपमा ल्होछार कार्यक्रममा सहभागी थिए ।

आयोजक संस्थाका सदस्य एवं साहित्यप्रेमी धन लामाद्वारा संचालित ल्होछार कार्यक्रममा संस्थाका उपाध्यक्ष चुन्डुई लामाले स्वागत भनाई राखे पश्चात शुभकामना मन्तब्य दिने क्रममा तामाङ सोसाइटी अफ उत्तर अमेरिकाका केन्द्रिय अध्यक्ष लक्यान लामाले विश्वभरी नै पहिचानको मुद्दालाई अघि सार्दै तामाङ समुदायले ल्होछार मनाइरहेको बताए । ‘जनसङ्ख्याका हिसाबले नेपालमा तामाङ समुदाय पाचौं स्थानमा भए पनि तामाङ जाति राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारमा पाएका छैन’, उनले भने, ‘त्यही भएर तामाङ जाती राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा पछि परिरहेका छन् । राजनीतिक अधिकार प्राप्त गर्न पहिचान सहितको अधिकार चाहिन्छ ।’ राजनीतिक सामाजिक र पहिचानका मुद्दा कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिप्रायका साथ तामाङ एकताका लागि उत्तर अमेरिका संगठन गरेर यही अभियानमा लागि अगाडि बढिरहेको अध्यक्ष लामाले प्रष्ट्याए ।

आयोजक संस्थाका सदस्य सरला तामाङले निकै चित्ताकर्षक सोलो सेलो नृत्य गरेर उपस्थित पाहुनाहरुको ताली बटुल्न सफल बनिन् । प्रेम स्याङ्तान र चाँदनी योन्जनको जोडी नृत्य पनि उस्तै मनोरन्जनात्मक बने । समूहमा नृत्य गरेर सहभागी सबैले भरपूर मनोरन्जन लिएका थिए ।

कार्यक्रमको सभापति तथा आयोजक संस्थाका अध्यक्ष रोमी योन्जनले तामाङ सोसाईटी अफ कनेक्टिकटको आयोजनामा भएको ल्होछार कार्यक्रममा सहभागी भई हौसला बढाएकोमा अतिथीहरुप्रति आभार ब्यक्त गरे । सबैले मिलेर कार्यक्रम सम्पन्न गर्न हातेमालो गर्ने आफ्ना कार्यसमिती सदस्यहरु लगायत अन्य सम्पुर्ण सहयोगी सदस्यहरु एवं समुदायको प्रशंसा गर्दै योन्जनले धन्यबाद दिए । तामाङ सोसाईटी अफ उत्तर अमेरिकाको च्याप्टरको रुपमा हातेमालो गरी तामाङ सोसाईटी अफ कनेक्टीकटले काम गर्दा निकै उर्जा मिलेको बताउँदै अध्यक्ष योन्जनले हाल संचालित तामाङ सोसाईटी अफ उत्तर अमेरिकाको आपतकालिन सहयोग फन्डका लागि आफ्ना ब्यक्तिगत तर्फबाट पाँच सय डलर सहयोगको घोषणा गर्दै सबैलाई सहयोग गर्न समेत अनुरोध राखेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : २९ बजे