९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

अमेरिकामा तामाङ समाजले मनायो सोनाम ल्होछार



न्युयोर्क । तामाङ समाज अमेरिकाले २८५६ औं सोनाम ल्होछार न्युयोर्कमा विशेष कार्यक्रमका साथ मनाएको छ ।


बौद्धधर्म परम्पराअनुसार साङ सेरकिम पूजासँगै सुरु भएको ल्होछार कार्यक्रममा तामाङ समुदायको साथै न्युयोर्क र आसपासमा रहेका विभिन्न समुदाय एवं संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

प्रवासमा आफ्नो धर्म र संस्कृति संरक्षणका लागि आयोजना गरेको ल्होछारमा तामाङ समाजले यस पटक बौद्धधर्म गुरु लोपेन गिर्मि छोढकको उपस्थितिमा विशेष धार्मिक पूजापाठ गरेको थियो । पूजालगत्तै कार्यक्रममा उपस्थित पाहुनालाई आयोजकले तामाङको मौलिक टोपी र खादा लगाइदिइ ल्होछार शुभकामना आदानप्रदानसँगै न्यानो आत्मीयता साटेका थिए ।


धार्मिक पूजा, नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै बुद्धको प्रतिमामा छ्योमी बालेर औपचारिक कार्यक्रम सुरु भएको थियो । तामाङ समाजले गत वर्ष वेलोजिनोमा र यस पटक गुल्सन टेरेसमा ल्होछार मनायो । समाजले अलग्गै ल्होछार मान्न थालेको यो दोस्रो हो ।

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई समाजका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्वागत मन्तव्य दिएका थिए भने समाजका अध्यक्ष सानुमाया तामाङले सहभागीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा समाजका संरक्षक तथा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) पूर्वअध्यक्ष लुइसाङ वाइबा, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, आदिवासी जनजाती महासंघ फिप्नाका सल्लाहकार मणि वाङ्देल, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, धादिङ समाजका अध्यक्ष चन्द्र जिसी, एनआरएन व्यापार तथा पर्यटन संयोजक आङ जाङ्बु शेर्पा, तमु परिवारका अध्यक्ष मनिता गुरुङ, लङ आइल्यान्ड समाजका प्रतिनिधि राजन गौली आदिले ल्होछारको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम समाजका महासचिव विनिता तामाङले सञ्चालन गरेकी थिइन् । औपाचारिक कार्यक्रमपछि तामाङ लोकसंस्कृति झल्कने विभिन्न तामाङ नृत्यहरुसँगै जन्कार डान्स सेन्टर र बसन्त डान्स सेन्टरको कोरियोग्राफीमा विभिन्न लोक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : ५५ बजे