बिष्णु सुवेदी
विश्वभर छरिएर रहनु भएका सम्पूर्ण दाजुभाई एवं दिदी बहिनीहरुमा हार्दिक जय नेपाल । नेकपाको सरकारले बहुमतको दम्भ देखाउँदै राजनैतिक पार्टी बिभाजनलाई सहज तुल्याउन र संवैधानिक परिषदलाई नियन्त्रणमा राख्नेगरी गरेको विवादास्पद निर्णयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसले लोकतान्त्रिक मुल्य र मान्यतामा गम्भिर प्रश्न चिन्ह खडा गरेको छ । सरकारले ल्याएका अध्यादेश प्रतिगमन उन्मुख रहेको प्रष्टै देखिन्छ । सरकारले गरेको निर्णय केही मिनेटमै राष्ट्रपतिले लालमोहोर लगाउनुले त्यसलाई थप पुष्टि गरेको छ ।
आम नेपाली जनताको त्याग र तपस्याबाट जारी भएको संबिधानले राजनीतिक दलको स्थायित्व बारे स्पष्ट लेखेको अवस्था छ । यस्तै प्रतिपक्षी दलबिनै संवैधानिक परिषदलाई नियन्त्रणमा राख्न खोज्नुले लोकतन्त्र खतरा रहेको संकेतहरु देखाईरहेको छ ।
अहिले हामी कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं, यस्तो बिषम परिस्थितिमा सरकार राहत र कोरोना भाइरस नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा लोकतन्त्रनै खतरामा पर्नेगरी प्रस्तुत हुनु र बहुमतको दम्भ देखाउनुले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन्, भन्ने संकेत गरेको छ । नागरिकको जीवन रक्षा गर्नुपर्ने यो जटिल परिस्थितिमा सरकार राजनीतिक चलखेलमा लाग्नुले हामीमा शंका उत्पन्न भएको छ । सत्ताको उन्माद देखाउनु नेपाली राजनीतिक इतिहासमै लज्जाको बिषय भएको छ ।
लोकतन्त्रका लागि आज सम्म भएका ठूलठूला आन्दोलन र त्याग तपस्यालाई खिल्ली उडाउँदै नेकपाको सरकारले गरेका निर्णयलाई तत्काल फिर्ता गर्न हामी बिनम्रतापूर्वक आग्रह गर्दछौं । यदी हाम्रो आग्रहलाई अबमुल्यन गरिएमा लोकतन्त्रको रक्षाका लागि हामी जस्तो सुकै आन्दोलन समेत गर्न तयार रहेको चेतावनी दिन चाहन्छौं ।
लोकतन्त्रका लागि हामी सँधै कटिवद्ध छौं । जय नेपाल
लेखक नेपाली कंग्रेस महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक हुन ।