३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

कोरोना अपडेटः विश्वभर २ लाख ९८ हजारको मृत्यु



जेनेभा (एजेन्सी)। कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१४ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७७२ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ६३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८५ हजार १९७ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७५४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १ : ३५ बजे