१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

जिपिके फाउन्डेशन अमेरिकाको संयोजनमा चौथो कोभिड -१९ खोप अभियान


Ang

१३ बैशाख २०७८, सोमबार  

0
Shares

गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनमा न्युयोर्क र आसपासमा रहेका नेपाली लगायत विभिन्न समुदायका ७७ जनालाई काभिडवाट सुरक्षित रहन चौथो तथा अन्तिम खोप लगाउने कार्य सम्पन्न भएको छ । फाउण्डेसनले क्विन्स हस्पिटल जमैकासंग समन्वय गरी यसरी खोप अभियान चलाएको यो चौथो कार्यक्रम हो । क्विन्स अस्पताल प्रशासनसंग सहमति भए अनुसार हरेक हप्ताको शनिवारका दिन फाउन्डेशनलाई प्राप्त ५ सय जना सम्मले एकैसाथ भ्याक्सीन लगाउन सक्ने सहमती भए अनुसार अपि्रल महिनाभरि हरेक शनिवार निरन्तर खोप कार्यक्रम संचालन गरिएको थियो ।

विभिन्न नेपाली समुदायसंग समन्वय गरी फाउन्डेशनद्वारा वितरित फाराम भरी नामावली संकलन गरीएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाईएको फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले बताए । उनका अनुसार फाउण्डेशनको खोप लगाउने अभियानमा अपि्रल महिना भरिमा चौथो र अन्तिम पटक लगभग ९०० जनाले भ्याक्सिन लगाउन सफल भएको छ ।


संभवत अमेरीकामा रहेका नेपाली संघसंस्थाहरूमध्ये फाउन्डेशनले एकमुष्ट रूपमा र वृहत तरिकाले एकैथलोमा सामूहिक रूपमा खोप लगाउने अभियान थालेको यो पहिलो हो । कार्यक्रममा फाउन्डेशनका कार्यवाहक अध्यक्ष लामा,महासचिव छिरिंग राप्के लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य धु्रव  कुंवर क्षेत्री ,समाजसेवी एवं युवा नेता विजय थुलुंग, दुर्लभ मगर र विशाल वुढामगर खटिएका थिए । उनीहरुले हस्पिटल प्रशासनको सौहार्दपूर्ण सहयोगमा आगन्तुकहरूलाई लाईन व्यवस्थापन गर्ने,अनलाईन प्रश्न भरीदिने,भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरूमा फाउन्डेशनका स्वयंसेवीहरू खटिएका हुन ।

कार्यक्रममा क्विन्स अस्पतालमा नेपाली समुदायका लागी छुट्टै सहायता केन्द्र हेल्प डेक्स स्थापना गरिएको र सो डेस्कमा स्टेफन मनरो,सरोजिनी कुमार,डाक्टर राव र ग्रेगरी महावीको विशेष सहायता टोली रहेको थियो । क्विन्स अस्पतालका समुदाय वोर्ड सल्लाहाकार समितिका अध्यक्ष एवं क्विन्स डेमोक्रेटिक डिस्टि्रक्ट लिडर डाक्टर एन्थोनी एन्ड्रीयुज जुनियरले फाउन्डेशनसाग हातेमालो गर्दै समुदायस्तरमा खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरेका थिए ।
हालसम्म लगातार सहयोग गरेकोमा हस्पिटल प्रशासनलाई फाउन्डेशन परिवारको तर्फवाट विशेष धन्यवाद प्रकट गर्दै आफनो अग्रसरतामा खोप लिने समुदायका सम्पुर्ण महानुभावहरू प्रति संस्थाका तर्फवाट धन्यवाद प्रकट गरीएको महासचिव एवं भ्याक्सिन टास्क फोर्सका संयोजक छिरिंग राप्के लामाले बताए ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको ‘ भ्याक्सीन लगाऔं, स्वस्थ्य रहौं, आफु पनि बाचौं र अरुलाई पनि बचाऔं ‘को अभियानमा शेर्पा किदुग अमेरीका, अधिकार र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोग रहेको थियो ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियर,स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव, ग्रेगोरि माहाबी, शेर्पा किदुग अमेरीकाकी अध्यक्ष श्रीमती छिरीगं शेर्पा, अधिकारकी प्रोग्राम डाईरेक्टर नर्वदा क्षेत्री, अधिकारकी हेल्थ नेभिगेटर एंव प्रोग्राम ऐसिसटेन्ट संध्या गुरुड. प्रधान, घ्याल्सुम्दो सेवा संस्था अमेरीकाकी अध्यक्ष निमा ल्हमो लाई धन्यवाद एंव आभार प्रकट गर्दछ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : २४ बजे