४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

आदिबासी जनजाति महिला महासंघ, अमेरिकामा इन्दिरा


Ang

७ कार्तिक २०७९, सोमबार  

132
Shares

नेपाल आदिवासी जनजाति महिला महासंघ, अमेरिका (फिवना) को तेस्रो महाधिबेशनले इन्दिरा चोङबाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा मैना बज्रचार्य, महासचिवमा इन्दु लामिछाने, सचिवमा निमा गोले, कोषाध्याक्षमा बरमाया पुन, सहकोषाध्यक्षमा शुभद्रा लिम्बु रहेका छन् भने कार्यसमितिमा अन्य १३ जना सदस्यहरू छन् ।
फिवनाले दिपावालीको अवसर पारेर आयोजित तेस्रो महाधिबेशनमा देउसीभैलो कार्यक्रमकोसमेत आयोजना गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिवना) का उपाध्यक्ष माया लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिति तथा उपाध्यक्ष लामाले प्रवासमा महिलाहरू यसरी एकजुट भएर अघि बढेकोमा आफु अत्यन्तै हर्षित भएको बताउँदै आगामी दिनमा सँस्थागत रुपमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
पहिलो चरणको उद्घाटन कार्यक्रममा बिभिन्न सँस्थाका प्रतिनिधिहरुले फिवनाको महाधिबेशन सफलताको शुभकामना मन्तब्य दिएका थिए ।
त्यस्तै बिशेष अतिथि न्यूयोर्कका लागि नेपाली सद्भावना पर्यटनदूत केशवराम राईले फिवनाले स्थापना कालदेखिको अहिलेसम्म महिला एकतासँगै महत्वपूर्ण कार्यहरु गर्दै आएको बताएका थिए । राईले सद्भावनादूतको हैसियतले आगामी दिनमा पनि फिवनासँग सहकार्य गर्नुको साथै फिवनालाई अघि बढ्न लागि सक्दो सहयोग गर्ने बताए ।
उक्त अवसरमा एलमर्स्ट हस्पिटलका एडभाइजर बोर्डको अध्यक्ष तथा आदिवासी जनजाति महासंघ अमेरिकाका पूर्व अध्यक्ष लुईसाङ वाइबा तामाङले (फिवना)ले महिला एकताको लागि गर्दै आएको गतिविधि र अहिले आदिवासी महिलाले समाजमा गर्दै आएकाे योगदानकाे प्रसंशा गरेका थिए । वाइवाले फिवनाको हितमा आफुले हरतरहको सहयोग गर्ने बचन दिएका थिए ।
फिवनाका पूर्व अध्यक्ष संगिनी रानामगरले प्रवासमा आदिवासी जनजातिहरूको पहिचान र अस्तित्वलाई जोगाइराख्नको लागि फिवनाले महत्वपूर्ण भूमिका खेलेको र संसारमा रहेका आदिवासी जनजाति महिलाहरूबीच एक्यवद्धता जनाउँदै अघि बढ्नु पर्ने बताएकी थिइन् । पूर्व अध्यक्ष रानामगरले सँस्थालाई अहिलेको स्थितिसम्म पुर्याउनको लागि महत्वपूर्ण साथ र सहयोग पुर्याउने ब्यक्तित्वहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि हालै गठित कार्यसमिति साथ र सहयोग गर्न आग्रह गरेकी थिइन् ।

त्यस्तै तामाङ सोसाइटी अफ अमेरिकाको ट्रष्टी बोर्डको अघ्यक्ष इन्द्र तामाङले फिवनाको निरन्तर प्रगतिको कामना गर्दै सदैव साथ र सहयोग रहने बताएका थिए । कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ नेजाका बरिष्ठ उपाध्यक्ष मच्छेदेवि गुरुङ, जिरेल समाजका अध्यक्ष शान्ति जिरेल, तामाङ समाज अमेरिकाकी अध्यक्ष बिनिता लामा, थारू एण्ड फ्रेण्डस् सोसाइटी अफ अमेरिकाका उपाध्यक्ष दिपक चौधरीलगायत बिभिन्न सँस्थाका प्रतिनिधिहरुले फिवनाको अधिबेसन सफलताको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सँस्थाका महासचिव बन्दना राईले प्रतिवेदन प्रस्तुत गरिन् भने सँस्थाकी कोषाध्यक्ष इन्दु लामिछानेले सँस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको अन्तमा सँस्था पूर्व उपाध्यक्ष तथा नवनिर्बाचित अध्यक्ष इन्दिरा चोङबाङले सँस्थाको हितमा अहिलेसम्म साथ र सहयोग दिने सम्पूर्ण सहयोगी ब्यक्तित्वहरू र सँस्थाहरूप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । नवनिर्वाचित अध्यक्ष चोङबाङले आदिवासी महिलाको हकहित र एकताको लागि अहिलेसम्म जति कार्यक्रमहरू भए त्यसका अलवा सँस्थाको निश्चित उदेश्यहरू प्राप्तिको लागि सम्पूर्ण सँस्थहरुसँग सहकार्य गर्दै अघि बढ्ने भएकोले सबैमा साथ र सहयोगको लागि आग्रह गरिन् । पहिलो चरणको कार्यक्रम लगतै निर्वाचनको कार्यक्रमसँगै नयाँ कार्यसमिति चयन गरिएको थियो । त्यसपछि महिला दिदीबहिनीहरुले गीत र नृत्य गर्दै देउसीभैलो कार्यक्रम गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : १३ बजे