अमेरिकाको नर्थ क्यारोलिनास्थित आरटिपी क्षेत्रमा २१५३औँ ग्याल्पो ल्होसारको अवसरमा भव्य सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
ल्होसारको अवसर पारेर एकै दिन दुई महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको थियो; दिउँसो ल्होसार कप फुटबल फाइनल र बेलुकी नेपाली मौलिकता झल्किने ल्होसार साँझ । प्रवासमा, विशेषगरी अमेरिकी नेपाली समुदायमा, एकै दिन यसरी दुई विशेष कार्यक्रम आयोजना हुनु सम्भवत पहिलो पटक भएको आयोजकहरूको भनाइ छ ।

बौद्ध धर्मावलम्बी विभिन्न समुदायहरूको महान पर्व ग्याल्पो ल्होसारका अवसरमा फुके नेपाली फुटबल क्लबले ल्होसार कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो भने हिमालयन कम्युनिटी नर्थ क्यारोलिनाले सांस्कृतिक कार्यक्रम ‘ल्होसार साँझ’को आयोजना गरेको हो । दुराम क्षेत्रमा सम्पन्न सांस्कृतिक कार्यक्रममा विभिन्न नेपाली समुदायका सहभागीहरू आ–आफ्नो परम्परागत पोशाकमा उपस्थित भएका थिए, जसले कार्यक्रम स्थललाई नेपाली संस्कृतिको रंगीन झल्को दिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई चिया, खाजा तथा परम्परागत परिकार खाप्सासहित स्वागत गरिएको थियो । सांस्कृतिक कार्यक्रमको सुरुवात काजल गुरुङले आनी छोइङ डोल्माको लोकप्रिय गीत “फूलको आँखामा फूलै संसार” प्रस्तुतबाट गरेकी थिइन् । त्यसपछि विभिन्न नेपाली मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूलाई निकै आकर्षित गरेको थियो । नृत्य गर्नेहरूमा सरिता राउत बस्नेत, निकेश बस्नेत, फूलु घिसिङ, नीलम गिरी, मणिका चौलागाईं र नीमा तामाङ थिए ।
कार्यक्रममा गायकहरू शिशिर पौडेल, तेन्जिङ लामा र दीपक दवाडीले आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यसैगरी न्यूयोर्कबाट आएका लोकप्रिय गायक सञ्जोग योञ्जनले पनि आफ्नो प्रस्तुतीमार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए । कलाकारहरूको प्रस्तुतीपछि सहभागीहरू राति ढिलोसम्म डिजेको संगीतमा नाच्दै रमाइलो गरेका थिए ।

एनसिएनसीका अध्यक्ष धदिन पाण्डेले प्रवासमा नेपालीहरूको मौलिक संस्कृति जोगाउन हिमालयन कम्युनिटीले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा ल्होसार कप तथा ल्होसार साँझ सफल बनाउन सहयोग गर्ने प्रायोजकहरू तथा आयोजक समितिका सदस्यहरूलाई अध्यक्ष पाण्डेले खादा ओढाएर सम्मान गरेका थिए ।

आरटिपीमा आयोजित ल्होसार साँझ कार्यक्रमले नेपालमै ल्होसार मनाएको झल्को दिएको सहभागी कुमार थापाले बताए । “प्रवासमा रहे पनि यहाँको वातावरणले नेपालमै चाड मनाइरहेको अनुभूति भयो,” उनले भने ।
कार्यक्रम संयोजक विजय गुरुङका अनुसार यस वर्षको ल्होसार कार्यक्रममा केही साना–मसिना कमजोरी भए पनि अपेक्षा गरेभन्दा धेरै भव्य रूपमा कार्यक्रम सम्पन्न भएको छ । उनले सीमित जनशक्तिका बाबजुद पनि ठूलो मेहनत गरेर ल्होसार कप र ल्होसार साँझ दुवै कार्यक्रम सम्पन्न गरिएको बताए ।
हिमालयन कम्युनिटीका संयोजक आङ छिरिङ शेर्पाले प्रवासमा नेपाली भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै भावी पुस्तालाई नेपाली पहिचान दिलाउने उद्देश्यले ल्होसार कार्यक्रम मनाउँदै आएको बताए । उनले यस वर्षको कार्यक्रमको तयारीका लागि झण्डै दुई महिना मेहनत गरिएको जानकारी दिँदै कार्यक्रम सफल बनाउन योगदान दिने प्रायोजक, कलाकार तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरे ।






























































































