२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

कक्षा ६ मै जुन हेर्दै गीत लेख्थें–गायिका रेणुका थापा


५ श्रावण २०७४, बिहिबार  

0
Shares

काठमाडौं कोटेश्वरकी रेणुका थापा पेसाले नर्स हुन् । काठमाडौंं मोडल अस्पतालबाट नर्सिङमा स्नातक सकाएकी उनले पाँच वर्षयता विरामीको सेवामा खट्दै आएकी छन् । स्नातकको रिजल्ट पर्खिरहेकै बेलाको फूर्सतको समयमा उनले आफ्नो तेस्रो म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

सानैबाट गायिका बन्ने हुटहुटी चलेपनि विभिन्न कारणले उनले गायनलाई समय दिन सकिनन् । पढाई र नर्सिङबाट बचेको समयमा उनी गीतसंगीतमै लागिन् । २०७० बाट उनले म्युजिक भिडियो बजारमा ल्याउन थालिन् । नविनकिशोर भट्टराई, मौसमी गुरुङका गीतहरु चर्चामा रहेका बेला संगीतमा मन बसेको बताउने थापाले पप प्याटर्नकै गीत बजारमा ल्याएकी छन् ।

फूल झैं फूलिरहनु–२०७०, कोशिश गरें–२०७१ र तिम्रो मायामा–२०७४ उनका गीत हुन् । यी गीतहरुमा संगीत÷शब्द पनि उनकै रहेको छ । पछिल्लो भिडियोमा उनी आफैं अभिनयमासमेत उत्रिएकी छन् । उनी गायिका थापासँग एभरेस्ट टाइम्सका लागि उनको सांगीतिक यात्राबारे गरिएको कुराकानीः

‘तिम्रो मायामा’ म्युजिक भिडियो भिडियोबारे बताइदिनुहोस न ?
एक महिना भयो रिलिज भएको । दर्शकश्रोताले मन पराउन थाल्नुभएको छ । युट्युबमा भ्यअर्स पनि बढ्दै छ । पप प्याटर्नको डान्सिङ नम्बरको गीत भएकोले पनि मन पराउनुभएको होला । यो गीत मेरै शब्द÷संगीतमा तयार भएको हो । सन्तोष लामाले पनि साथ दिनुभएको छ । दुःख गरेर तयार गरेकी हुँ । त्यसैले सन्तुष्ट छु ।

मायासँग सम्बन्धित गीत रहेछ, गीतको कथा पनि भन्दिनुहुन्छ कि ?
कक्षा ६ पढ्दा लेखेकी गीत हो । त्यतिबेला लेख्न मन लाग्थ्यो । गाउन शिक्षकहरुसँग अनुरोध गर्दा मौका पाइनँ । त्यतिबेला देखि नै गाउन मन लागेको थियो । त्यही बेलाको गीतलाई अलिकति मोडिफाइ गरी गीत तयार पारेकी हुँ । एउटा केटीले आफ्नो दिल किन चोरेको भनेर केटासँग प्रश्न गरेको कथा गीतमा छ । केटाले चोरेको छैन भनेर ढाँटेको छ ।

गीत आफ्नै जीवनमा आधारित होला, कक्षा ६ मै त्यस्तो गीत लेख्ने वातावरण थियो है ?
गीत वा कथा लेख्न आफ्नै भोगाइ चाहिदैन भन्ने मलाई लाग्छ । मैले त अरु गीतहरु सुन्दै लेखेछु । यस्तो दिल चोर्ने इक्पेरेन्स त अझसम्म भएको छैन । मैले पनि चोरेको छैन, मेरो पनि कसैले चोरको छैन होला ।

गीतमा अंग्रेजी पनि मिसाउनुभएको छ, कसरी फु¥यो यस्तो आइडिया ?
यो कक्षा ६ मै हुदाँको रचना हो । अंग्रेजी शब्द पनि यस्तै रहेछ । हटाएर अरु राखुँ कि भनेको मिलेन । यही फिट भयो ।

तपाईं त नर्स पनि हुनुहुन्छ, अस्पतालमा बिरामीलाई गीत पनि सुनाउनुहुन्थ्यो ?
अस्पतालमा बिरामीको चाप धेरै हुन्छन् । त्यसैले बिरामीलाई गीत सुनाउने फूर्सत नै मिलेन । अर्को कुरा पढाइमा पनि व्यस्त हुने भएकोले गीत गाउने फूर्सत कहाँबाट मिल्नु ? अब चै सुनाउनुपर्छ होला ।

बिरामीहरु संगीतबाट निको हुन्छ भन्छन्, यो भनाईमा तपाई कतिको विश्वास गर्नुहुन्छ ?
सही हो । कति ठाउँमा म्युजिक थेरापीबाटै विरामी निको पारिन्छ । सबैभन्दा ठुलो कुरा भनेको सकरात्मक सोच हो । यसैले बिरामीले रोगलाई जित्छ ।

तपाईं संगीत र नर्सिङमध्ये छोड्नुपरेमा कुनलाई छोड्नुहुन्छ ?
तुलामा जोख्ने हो भने नर्सिङ र संगीत दुबै बराबर हुन्छ । नर्सिङ धेरै राम्रो र प्यारो पेसा हो । गायनलाई पनि छाड्नै सक्दिनँ । अब त श्रोतादर्शकको माया पाउन थालेकी छु । नयाँ गीतको तयारीमा पनि छ । स्टेज कार्यक्रमहरुमा निम्तो आउन थालेको छ । यसैले यी दुबैलाई सँगै लैजान्छु ।

काठमाडौंमै जन्मेहुर्केकाहरु प्रायः सांगीतिक क्षेत्र रोज्दैनन्, तपाईंलाई यसप्रति परिवारको के सुझाव हुने गर्छ ?
जुनसुकै पेसा समान हुन्छन् । दुःख गरे जुनैमा सफलता मिल्छ । त्यसैले सहरमा हुर्के भन्दैमा संगीतमा लाग्नुहुन्न भन्ने मलाई लाग्दैन । बाबाममीले छोरी संगीतमा लागी भनेर रोक्नु पनि भएको छैन ।

 

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार  ९ : २७ बजे