आङछिरिङ शेर्पा/न्युयोर्क
टेक्सासको ड्यालस नेपाली समुदायमा अहिले सफल व्यवसायीहरु बढिरहेका छन् । कुनै बेला विद्यार्थीको रुपमा अध्ययन गर्न आएका उनीहरु अहिले विभिन्न पेसा÷व्यवसायमा चिनिन थालेका छन् । विशेषगरी आइटी र ग्यास स्टेसनमा उनीहरु अरु मुलुकको व्यवसायीहरुसँग प्रतिस्पर्धा गर्ने गरी अघि बढिरहेका छन् । मिहिनेत र धैर्यताका साथ कुनै पनि काम गरेमा अवश्य सफल भइन्छ भन्ने उदाहरण उनीहरुले दिँदै आएका छन् । जति पनि व्यवसायीहरु भेटिए, उनीहरु सबै नेपाली समाजमा निकै सहयोगी र समन्वयात्मक सोच बोकेका थिए । तिनै व्यवसायीहरुमध्ये पछिल्लो समय चर्चामा आएका व्यवसायीको रुपमा चिनिएका छन् पासाङ लामा शेर्पा । उनी क्वीक ट्रयाक नामक ग्यास स्टेसनका मालिक हुन । ग्यास स्टेसन व्यवसायलाई फैलाउनका लागी उनले टेक्सासमा नया ठाउ खोज्दै क्वीक ट्रयाक कम्पनिको नाम दिएर अरुलाई स्टोर लिजमा दिने कार्य गरिरहेका छन । यसरी लिज दिदै खोलेको ग्यास स्टेसनको संख्या ४५ पुगेको छ । त्यही ग्यास स्टेसन र कन्सलटेन्सीमा २ सय कामदार रहेका छन ।
ड्यालसको एक तल्ले कोठाबाट उनले मिलियन डलरको व्यवसाय चलाउँछन् । कनै पनि सफल व्यवसायीको आफ्नै संघर्षको कथा हन्छन् । अरुहरुको जस्तै पासाङको पनि यहाँसम्म आइपग्दाको संघर्षका कथाहरु उत्तिकै रोचक छन् । कुनै बेला अमेरिकाको भिषा पाए पनि हवाई टिकट किन्ने पैसा नहँदा उनी छट्पटिनु परेको थियो । बल्लतल्ल साथीसँग ऋण लिएर अमेरिका छिरेका उनी आज अमेरिकामा सफल व्यवसायी बन्लान् भनेर कसले पो सोचेको थियो होला र ! जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ मिहिनेत र संघर्ष गरेर उनले यो उपलब्धि हासिल गरेका हुन ।
‘अमेरिका आउँदाको दुख र यहाँ आएपछि सेभेन इलेभेनमा गरेको संघर्षकै कारण मैले यो भूमिमा चिनारी पाएको हुँ,’ पासाङले भने, ‘कुनै पनि काम गर्दा मिहिनेत र त्याग गरे अवश्य सफल भइने रहेछ ।’ अमेरिकामा सबै काम गाह्रो छ, सजिलो भन्ने नै छैन । तर, उनले जुनसुकै काम मिहिनेतका साथ गरे । ‘आपूmले गर्ने काम इमानदारपूर्वक गर्नपर्छ भनेर निरन्तर लागिपरे अवश्य सफल भइने रहेछ,’ उनले विगतका दिन सम्झिए । रामेछापमा जन्मेका उनी काठमाडौँ हुँदै अमेरिका आएका हुन् । अमेरिकामा अहिले यो उचाइमा पुगेपछि अरुलाई पनि सरसल्लाह र सहयोग गर्न उनी रुचाउँछन् । ‘अहिलेको जमानामा आफू पनि सफल हुन र अरुलाई सफल बनाउन टिमवर्कमा विश्वास राख्ने भएकोले मलाई मिलेर काम गर्न मनपर्छ,’ पासाङले भने । १२ वर्षअघि सेभेन इलेभेन स्टोरमा काम गर्दा पाएको अनुभवले ३५ हजार डलर लगानी गरेर सञ्चालन गरेको एलपी फड स्टोरको नाम क्वीक ट्रयाकमा रुपान्तरण भएको छ ।
सन् १९९७ मा २१ वर्षको उमेरमा अमेरिका आएर विभिन्न ठाउँमा काम गरेर कमाएको पैसाले खोलेको उनको कम्पनीमा अहिले करिब २ सय जनाले रोजगारी पाएका छन् । जसमा २० प्रतिशत नेपाली कामदार छन् । उनी यो ब्राण्डलाई मल्टिमिलियन व्यापारिक कम्पनीसँग प्रतिस्पर्धा गर्न खोजिरहेका छन् । ड्यालसमा उनको बबा र दुई दाइ नजिकै बस्छन् । बबा र उनको व्यवसायसँगै भए पनि दुवै दाइको बेग्लै व्यवसाय छ । ‘संसार यस्तै छ, हिजो हामीसँग पैसा नहँदा कसैले भ्यालु गर्दैन्थे तर आज पैसाकै कारण हामीसँग नजिक हुनेहरु धेरै छन्,’ पैसाको महत्वबारे उनले भने, ‘ हिजो अरुले वास्ता नगरेको तापले अहिले जतासुकै खर्च गर्न मन लाग्दैन ।’
उनले व्यवसायसँगै बचेको समय एनआरएन र हालै खोलेको नयाँ संस्था युनाइटेड नेपलिज एसोसिएसनलाई दिँदै आएका छन् । एसोसिएसनका उनी संस्थापक अध्यक्षसमेत हन् । उनको व्यवसाय ग्यास स्टेसन मात्र होइन विद्यार्थीका लागि अध्ययन र काम गर्न नेपालमा कन्सल्टेन्सी पनि खोलेका छन् । चाँडै पोखरा र काठमाडौँमा पनि होटल खोल्ने उनको योजना पनि छ । त्यस्तै, नेपालमा शिक्षाको विकासका लागि युनिभर्सिटी खोल्न अमेरिकी विश्वविद्यालयसँग छलफल गरिरहेको उनले सुनाए । ‘जसरी हुन्छ नेपाल र नेपालीका लागि केही गरौँ भन्ने सोचले अघि बढिरहेको छ तर यो एनआरएनबाट होइन मेरो व्यक्तिगत लगानीबाट हुनेछ ।’