भिजिट नेपाल २०२० बारे न्युयोर्कमा अन्तरक्रिया

२०७६ माघ १५, बुधबार ०३:०२

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ब्यापार तथा पर्यटन प्रबर्द्धन समितिले नेपाल भ्रमण बर्ष २०२० सचिबालयका सदस्य सचिब बच्चुनारायण श्रेष्ठ र नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरण सख्खाको उपस्थितिमा न्युयोर्कमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको आयोजना गरियो ।

नेपालको पर्यटनसँग आवद्ध विभिन्न संघसस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा एनआरएनए ब्यापार तथा पर्यटन प्रबर्द्धन समितिका संयोजक आङजाङ्बु शेर्पाले नेपालबाट आइपुगेका सदस्य सचिब श्रेष्ठ र चेम्बरका अध्यक्ष सख्खालाई खादा लगाई स्वागत गरेका थिए ।

संयोजक शेर्पाले नेपालको पर्यटन प्रर्वद्धनका लागी एनआरएनले फेसबुक लगायत विभिन्न माध्यामबाट नेपालको प्रचारप्रसार कार्य तीव्र रुपमा गदै आएको बताउँदै भावी योजनाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल डे परेड बोर्डका अध्यक्ष तथा शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पाले न्युयोर्कमा बर्षनी नेपाल चिनाउदै आएको विशेष कार्यक्रम नेपाल डे परेड यस पटक भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने योजना बनाएकोले यो कार्यक्रमलाई थप भव्य बनाउन सरकारसग सहयोगको आग्रह गरेका थिए ।

कार्यक्रममा एनआरएन न्युयोर्कका अध्यक्ष रामहरी अधिकारी, युएस नेपाल आरोही संघका अध्यक्ष पासाङ् निमा शेर्पा, बाग्लुङ समाजका अध्यक्ष चन्द्र जिसी, शेर्पा संघ अमेरिकाका उपाध्यक्ष मिङ्मा शेर्पा, लङ आइल्यान्ड नेपाली समाजका उपाध्यक्ष राजन गौली, शेर्पा किदुगका प्रबक्ता फरादेन्डी शेर्पा, निबर्तमान एनआरएन बोर्ड अफ डाईरेक्टर आङ निमा ग्याल्जेन शेर्पा, ठकुरी समाजका अध्यक्ष मिलन शाही, श्यामा किदुगका अध्यक्ष एपी लामा, सामाजिक अभियान्त फूरी शेर्पा, पुर्व अमेरिकी सेनाका क्याप्टेन सुनिल महत, दावा शेर्पा लगयतले नेपाल भ्रमण बर्षको बारेमा मन्तव्य दिएका थिए ।

कार्यक्रममा चेम्बर अफ कर्मसका अध्यक्ष किरण साख्खले विश्वमा भिन्नै विशेषता बोकेको नेपाल चिनाउनका लागी थलानी भएको यो भिजिट नेपाल अभियानले नेपालको पर्यटनसँगै विभिन्न क्षेत्रमा फाइदा पुग्ने बताएका थिए ।

त्यस्तै नेपाल पर्यटन बर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले मुलुकको उन्नति र प्रगतिको लागि सुरु भएको भिजिट नेपाल सफल बनाउन देशविदेशमा रहेको सवै नेपालीले आ‍–आफनो ठाउँबाट सहयोग गर्न अनुरोध गरेका थिए । सदस्य सचिव श्रेष्ठले यो अभियानलाई सफल बनाउन विदेशमा रहेका नेपालीहरुको सस्था एनआरएनसँग सरकारले मिलेर गर्ने सहमति भएकोले पनि थप मद्दत पुगेको बताए ।

भिजिट नेपाल सफल बनाउन सरकारले विदेशमा रहेका राजदुताबास वा कन्सुलेटहरुलाई सिमित बजेट छुट्टयाएकोले विदेशमा बस्ने नेपालीहरुले एनआरएन र सरकारी निकायसग मिलेर नेपाल चिनाउने कार्यमा सहयोग गर्न उनले आग्रह गरेका थिए । उनका अनुसार भिजिट नेपालको लागि सरकारले विभिन्न प्याकेज र कार्यक्रमहरु अघि सारेकोले पनि पर्यटकहरुलाई आर्कषित हुने भएको छ ।

सम्बन्धित समाचार