एभरेष्ट टाइम्स विश्लेषण
विश्वको सबैभन्दा शक्तिशाली लोकतन्त्र भनिने अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन केवल राजनीतिक वर्चस्वको लडाइँ मात्र रहेन । यो अर्बौं डलरको विशाल अर्थतन्त्र परिचालन हुने र अमेरिकी राजनीतिक प्रणालीको गहिरो प्रभाव झल्किने एउटा ठूलो आर्थिक उत्सवसमेत बनेको छ । अक्टोबर १९ सम्मको सार्वजनिक विवरणअनुसार यस निर्वाचन चक्रमा १५ अर्ब अमेरिकी डलरभन्दा बढीको वित्तीय परिचालन भइसकेको छ ।
अमेरिकी संसद् (कंग्रेस) को शक्ति सन्तुलन निर्धारण गर्ने यो निर्वाचनले अमेरिकाको आन्तरिक नीति मात्र नभई विश्व राजनीति र अर्थतन्त्रलाई समेत दिशा निर्देश गर्ने भएकाले यसको आर्थिक र राजनीतिक आयामलाई सूक्ष्म रूपमा विश्लेषण गर्नु आवश्यक छ ।
पर्दापछाडिको अङ्क गणित
संघीय निर्वाचन आयोगको प्रतिवेदनअनुसार कंग्रेस उम्मेदवारहरूले अक्टोबर सम्ममा अर्बौं डलर संकलन र खर्च गरिसकेका छन् । यूएस फ्यक्टस्को तथ्याङ्कले डेमोक्र्याटिक उम्मेदवारहरू प्रत्यक्ष कोष संकलनमा (करिब २ अर्ब डलर) अगाडि देखिए पनि रिपब्लिकन समर्थित स्वतन्त्र समूह र सुपर प्याक हरूले बाह्य विज्ञापन र डिजिटल प्रचारमा आक्रामक लगानी गरेर सो अन्तरलाई सन्तुलित बनाएका छन् ।
प्रत्यक्ष उम्मेदवार कोषमा डेमोक्रेट्स बलियो देखिए तापनि विज्ञापनमा भएको भारी खर्चले चुनावी मैदानमा दुवै पक्षबीच तीव्र र बराबरको प्रतिस्पर्धा रहेको स्पष्ट पार्छ ।
नयाँ शक्ति केन्द्रका रुपमा सिलिकन भ्याली, क्रिप्टो र एआई
यस पटकको निर्वाचनमा परम्परागत उद्योग (जस्तै तेल, ग्यास वा रक्षा उद्योग) भन्दा नयाँ प्रविधि, एआई र क्रिप्टोकरेन्सी क्षेत्रका धनाढ्यहरूको प्रभाव ह्वात्तै बढेको छ ।
एलन मस्कले रिपब्लिकन समर्थित राजनीतिक समूहहरूमा करिब ४५ करोड डलर योगदान गरेका छन् भने माइकल ब्लुमबर्गजस्ता दिग्गजहरूले पनि ठूलो धनराशि परिचालन गरेका छन् ।
त्यसैगरी Winklevoss भाइहरू, Ripple का क्रिस लार्सेन, Coinbase का ब्रायन आर्मस्ट्रङका साथै Marc Andreessen र Reid Hoffman जस्ता हस्तीहरूले असिमित कोषमार्फत डिजिटल सम्पत्ति र एआई नियमनका नीतिहरूलाई आफूअनुकूल बनाउन राजनीतिक दलहरूमा ठूलो लगानी गरेका छन् ।
यसले के देखाउँछ भने, भविष्यको प्रविधि र मौद्रिक नीति कसरी तय हुने भन्ने प्रतिस्पर्धा अब संसद्को बहसअघि नै चुनावी अर्थतन्त्रमार्फत सुरु भइसकेको छ ।
‘डार्क मनी’ र सुपर प्याक
सन् २०१० को Citizens United सम्बन्धी सर्वोच्च अदालतको ऐतिहासिक निर्णयपछि अमेरिकामा स्वतन्त्र राजनीतिक खर्चको ढोका खुलेको थियो । सुपर प्याकहरूले असीमित रकम उठाएर प्रचारप्रसार गर्न पाउने कानुनी प्रावधानले चुनावी खर्चलाई नयाँ उचाइमा पुर्याएको छ ।
बर्नान सेन्टरको अध्ययनअनुसार शीर्ष दाताहरूबाट आएको ठूलो हिस्सा (करिब २७ प्रतिशत) ‘डार्क मनी’ (मूल दाता नखुल्ने रकम) सँग सम्बन्धित छ । जब गैरनाफामूलक संस्था वा सुपर प्याकमार्फत अर्बौं डलर अज्ञात स्रोतबाट आउँछ, तब मतदाताहरूले उम्मेदवार र सम्भावित नीतिगत स्वार्थबीचको सम्बन्ध पहिल्याउन कठिन हुन्छ । यसले अमेरिकी लोकतन्त्रको पारदर्शी छविमा ठूलो चुनौती थपेको छ ।
के ‘पैसा’ ले नै जित सुनिश्चित गर्छ?
कतिपय मानिसलाई अमेरिकामा जसले धेरै पैसा खर्च गर्छ उसैले जित्छ भन्ने आम बुझाइ हुन सक्छ । तर, निर्वाचन क्षेत्रगत अध्ययन (जस्तै टेक्सास वा ओहायोका प्रतिस्पर्धी सिनेट सीटहरू) ले पैसा मात्र नतिजाको एकमात्र कारक नरहेको देखाउँछ ।
विज्ञापनले उम्मेदवारको एजेन्डा र सन्देश जनमानसमा पुर्याउन मद्दत गरे पनि अन्तिम निर्णय मतदाताको हातमा हुन्छ । स्थानीय मुद्दा, महँगी, रोजगारी, गर्भपतनसम्बन्धी नीति, अध्यागमन, र उम्मेदवारको व्यक्तित्वजस्ता विषयहरू चुनावी नतिजा निर्धारणका मुख्य आधार हुन् ।
डायस्पोरा र विश्वका लागि सन्देश
अमेरिकामा बसोबास गर्ने प्रवासी नेपाली तथा अन्तर्राष्ट्रिय समुदायका लागि मध्यावधि निर्वाचनको यो आर्थिक पाटो निकै अर्थपूर्ण छ । अर्बौं डलरको यो चुनावी अर्थतन्त्रले अमेरिकी अर्थतन्त्रमा अल्पकालीन हलचल पैदा गरे पनि, यसले नीतिको दिशा र भावी नेतृत्व तय गर्छ ।
पैसाको बढ्दो प्रभावले नीति निर्माणमा कर्पोरेट र धनाढ्य वर्गको दबदबा बढाउने जोखिम एकातिर छ भने, अर्कोतिर पारदर्शिता, कानुनी सजगता र नागरिक सचेतना नै अमेरिकी लोकतन्त्रको वास्तविक शक्ति हुन् । आगामी नोम्बर ३ को नतिजाले अमेरिकाको भावी आर्थिक-राजनीतिक यात्रा कता मोडिनेछ भन्ने प्रष्ट पार्नेछ ।









